विश्वकप फाइनलअघि चर्चामा रहेको मेस्सी र यमालको ‘दुर्लभ’ तस्बिर

विश्वकप फाइनलअघि चर्चामा रहेको मेस्सी र यमालको ‘दुर्लभ’ तस्बिर
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

सन् २००७ मा खिचिएको यो तस्बिर अहिले चर्चामा छ।

फुटबल जगत्‌का सूपरस्टार लिओनेल मेस्सी र युवा स्टार लमिन यमालको यो दुर्लभ तस्बिर चर्चामा आउनुको कारण पनि खास छ।

आजभन्दा १९ वर्षअगाडि यो तस्बिर खिचाउँदा मेस्सीले आफूले बाथटबमा नुहाइदिएको त्यही शिशुसँग फुटबलको सबैभन्दा ठुलो मञ्चमा आमनेसामने हुनुपर्ला भनेर सायदै कल्पना गरेका थिए।

तर आज राति हुने विश्वकप फुटबलको फाइनलमा एकातिर मेस्सी हुने छन्, जसले आर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्व च्याम्पिअन बनाउने प्रयास गर्ने छन् भने अर्कोतिर यमाल हुने छन्, जसका सामु स्पेनलाई विश्वविजेता बनाउने अवसर उपलब्ध छ।

सन् २००७ मा २० वर्षका रहेका मेस्सी ‘ग्रेटेस्ट अफ अल टाइम’ अर्थात् 'गोट' बन्ने क्रममा थिए र त्यसै बखत मेस्सीले यूनिसेफको एउटा च्यारिटी क्यालेन्डरका लागि यो फोटो शूट गराएका थिए।

त्यति बेला बार्सिलोना क्लबमा आबद्ध मेस्सीले उक्त क्लबको रङ्गशाला 'क्याम्प नू'को ड्रेसिङ रूममा ‍तिनै शिशु यमालसँग फोटो खिचाएका थिए।

फोटो शूटअघि ‘बार्साका एक खेलाडीसँग तस्बिर खिच्न पाउने अवसर’का लागि यमालको परिवारले पनि नाम दर्ता गरेका थिए।

गोला प्रथाबाट यमालको परिवारले उक्त अवसर जितेपछि प्लास्टिकको बाथटबमा राखिएका शिशुसँग मेस्सीले तस्बिरहरू खिचाएका थिए र फोटोपत्रकार जोन मन्फर्टले ती तस्बिरहरू खिचेका थिए।

हाल मेस्सी ३९ वर्षका भए र यमाल १९ वर्ष लागेका छन्। मेस्सीले कैयौँ अवसरमा यमाललाई ‘फुटबलको भविष्य’ तथा आफ्नो विरासत धान्न सक्ने खेलाडी भनेर चित्रण गरिसकेका छन्।

तस्बिर खिचाउँदा केही महिनाको शिशु रहेका यमाल अन्तर्राष्ट्रिय फुटबलमा स्पेनका एक मुख्य तथा प्रभावशाली खेलाडीका रूपमा चर्चामा छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।