तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालका जेन जी अभियानकर्मीको नजरमा भारतको 'कक्रोच' आन्दोलन
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ७ मिनेट
नेपालका जेन जी अभियानकर्मीहरूले भारतमा युवाहरूले गरिरहेको आन्दोलनलाई जवाफदेहिताको खोजी र सुशासनको मागको प्रस्फुटनका रुपमा अर्थ्याएका छन्।
कक्रोच जनता पार्टीको अगुवाइमा राजधानी दिल्लीबाट सुरु भएका प्रदर्शन भारतका विभिन्न राज्यमा फैलिरहँदा गत वर्षको नेपालको जेन जी आन्दोलनमा सहभागीहरूले युवाहरूको उक्त आन्दोलनलाई आफूहरूले नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका छन्।
उनीहरूले प्रदर्शनहरू शान्तिपूर्ण अघि बढेको भन्दै भारत सरकारले परिस्थिति बिग्रन दिन नहुने र आन्दोलनरत पक्षहरूलाई वार्तामा बोलाएर उनीहरूका जायज माग सम्बोधन गरिदिनुपर्ने बताए।
धेरैले भारतमा भइरहेका प्रदर्शनले गएको वर्षको भदौमा नेपालमा भएको जेन जी आन्दोलन सम्झना गराएको बताइरहँदा एक जना टिप्पणीकारले भारत र नेपालका युवाहरूको राजनीतिक चेतको स्तर फरक रहेको र अरूको देशमा भएका आन्दोलनबारे नेपाली युवाहरूले अनावश्यक सक्रियता देखाउन नहुने भन्दै सचेत गराएका छन्।
नेपालका जेन जीहरूको प्रतिक्रिया
बीबीसीसँग कुरा गर्दै नेपाल जेन जी फ्रन्टकी संयोजक रक्षा बमले परिवर्तनका लागि युवाहरूले 'आफ्नो भागको विद्रोह' भारतमा पनि गरिरहेको आफूलाई लागेको बताइन्।
उनी भन्छिन्, "नीटको प्रश्नपत्र लीक भएको जुन कुरा छ, यो अन्तत: सुशासनसँग नै जोडिन्छ। हाम्रो छिमेकमा एक किसिमको तानाशाही प्रवृत्ति बढेर गएको हो कि भन्ने देख्न सकिन्छ। उहाँहरू आफ्नो अधिकारका लागि सडकमा जानुभएको छ। हाम्रो पुस्ताले आफ्नो भागको विद्रोह भारतमा पनि गरिरहेको छ।"
उनले युवाहरूका माग 'सामान्य खालको रहेको' भन्दै यत्तिकै त्यो रोकिन्छ भन्ने आफूलाई नलागेको बताइन्।
भारत विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भएको उल्लेख गर्दै उनले शान्तिपूर्ण प्रदर्शन गरिरहेका युवाहरूमाथि 'लाठि बर्साइएको' भन्दै असन्तुष्टि जनाइन्।
दिल्लीमा जन्तरमन्तरबाट संसद् भवनसम्म युवाहरूले 'मार्च' गर्ने घोषणा गरेका थिए र हजारौँ सहभागी प्रदर्शनमा सुरक्षाकर्मीले अश्रुग्यास र लाठी प्रहार गरेका विवरणहरू आएका थिए।
आन्दोलनस्थलबाट आइरहेका तस्बिर र भिडिओ फुटेजहरू हेर्दा आफूहरूले अघिल्लो वर्ष गरेको आन्दोलन र त्यसलगत्तै देखिएको अराजक परिस्थितिलाई सम्झाएको उनले उल्लेख गरिन्।
"भारतको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण तरिकाले भइरहेको छ। हामी पनि यस्तै खालको प्रदर्शन चाहान्थ्यौँ। पहिलो दिनको हाम्रो प्रदर्शनमा दमन नभएको भए, सरकारले गोली नचलाएको भए हामी अझै रचनात्मक तरिकाले हामी आफ्नो भागको विद्रोह गर्थ्यौँ। हाम्रो प्रदर्शन पनि लम्बिन्थ्यो होला भनेर म सोच्दै थिएँ।"
"पहिलो दिनमा जसरी आन्दोलनकारीहरू मारिए, त्यो नभइदिएको भए, अब आउने पुस्तालाई पनि सायद शान्तिपूर्ण ढङ्गले हामी प्रतिरोध गर्न सक्छौँ भन्ने सन्देश दिनेथ्यो भन्ने मलाई लागिरहन्छ।"
नेपालसँग केके मिल्छ?
अर्की जेन जी अभियानकर्मी भावना राउतले एउटा पुस्ताले गरिरहेको सङ्घर्षका रूपमा भारतका युवाहरूको आन्दोलनलाई अर्थ्याउँदै नेपालमा जस्तै त्यहाँ पनि युवाहरूले सरकारबाट जवाफको खोजी गरिरहेको बताइन्।
उनले भनिन्, "हाम्रोमा आन्दोलन दुई दिनसम्म मात्रै चल्यो। तर पहिलो दिन नै सरकार जवाफदेही भएको थियो भने सायद त्यहाँसम्म पुग्दैनथ्यो होला। भारतमा पनि सरकारले अनशनमा बसिरहेको मान्छेलाई उठाएर लिएर गएको छ, सबैले जवाफ खोजिरहेका छन्।"
उनले थपिन्, "राज्यस्तरमा प्रदर्शनहरू बढिरहेका छन्, यदि उनीहरूले वार्ता सुरु गरेनन् भने यो थप चर्कन सक्छजस्तो लाग्छ। हामी एकअर्कालाई सुन्ने र एकअर्काबाट प्रेरित हुने पुस्ता हौँ। मलाई (नेपालसँग) समानता छ र सरकारले उहाँहरूसँग औपचारिक संवाद गरेन भने परिस्थिति अलिकति अप्ठेरो हुन जान्छ कि जस्तो मलाई लागिरहेको छ।"
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्नपत्र बाहिरिएको मामिलामा दोषीलाई कठोर दण्ड दिइने भन्दै त्यसका लागि 'फास्ट ट्रयाक अदालत' गठन गरिने घोषणा गरेका छन्।
प्रदर्शनकारीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। उनीहरूलाई २६ दिनदेखि अनशनमा बसिरहेका सोनाम वाङ्चुकले समर्थन गरेका छन्। पछिल्ला दिनहरूमा विपक्षी दलहरू र कैयौँ कलाकारहरूले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
नेपालको जेन जी आन्दोलनका एक जना नेता आदित्य कर्ण पश्नपत्र बाहिरिएको र त्यसभन्दा अघिदेखिकै निराशाका कारण युवाहरू प्रदर्शनमा उत्रिएको भन्दै भारत सरकारले बेलैमा उनीहरुको आवाज नसुनेकाले अहिलेको परिस्थिति आएको ठान्छन्।
"अरू मुद्दाहरू पनि थिए तर अहिले यो असन्तोष प्रस्फुटन गराउने एउटा कारक बन्न पुग्यो। म यसलाई राम्रो मान्छु किनभने एउटा कुनै पुस्ता मौन भइरहँदा अर्को पुस्ताले गलतको विरुद्ध बोल्नु राम्रो हो। अघिल्लो पुस्ताले पनि यही प्रश्नहरू गरिदिएको भए सायद यो तहसम्म उपेक्षा गर्ने आँट उनीहरूले गर्न सक्दैनथे होला।"
नेपालसँग के मिल्दैन?
कर्णले नेपालमा जेन जी प्रदर्शनमा सुरक्षा निकायले गोली चलाएको तर भारतको प्रदर्शनमा सुरक्षा निकायले ठाउँठाउँमा ब्यारिकेड खडा गरेर प्रदर्शनकारीमाथि कुटपिट गरेपनि गोली नचलाएको सन्दर्भ उल्लेख गरे।
नेपालमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै राजधानीमा जेन जीहरूले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा पहिलो दिन कम्तीमा १९ जनाको ज्यान गएको थियो।
प्रहरीको गोली लागेर स्कूले पोसाकमा गएका युवा विद्यार्थीसहितको ज्यान गएपछि आक्रोशित भएका प्रदर्शनकारीहरूले दोस्रो दिन संसद् भवन र सिंहदरबारसहितका कार्यालय र कैयौँ निजी भवनहरूमा समेत आगजनी गरेका थिए।
प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए र उनीसहित कैयौँ नेताहरूलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो।
भारतमा पनि एउटा सानो हिस्साले नेपालमा जेन जी आन्दोलनका क्रममा देखिएको उक्त ध्वंससँग जोडेर कक्रोच पार्टीको नियत र उद्देश्यलाई लिएर प्रश्न गर्ने गरेको पाइन्छ।
केही महिनाअघि सामाजिक सञ्जालमा राखिएको पोस्टमा कक्रोच जनता पार्टीका नेता अभिजित दीप्केले भारतका युवाहरूले आफ्नो संवैधानिक अधिकार बुझेको र शान्तिपूर्ण एवं लोकतान्त्रिक माध्यमबाट आफ्ना फरक मत राख्ने उल्लेख गरेका थिए।
उनले नेपाल र बाङ्ग्लादेशमा के भयो भन्ने कुरासँग तुलना गरेर भारतका जेन जीहरूलाई 'अवमूल्यन र अपमान' नगर्न भनेका थिए।
जेन जी आन्दोलन चलिरहँदा नेपालमा त्यसको अगुवाइ गर्ने पात्रहरू खासै अगाडि आएका थिएनन्।
त्यस बेला सञ्चारका लागि प्रयोग गरिने अनलाइन माध्यम 'डिस्कर्ड'को प्रयोग गरेर प्रदर्शनको योजना बनाइएका भन्दै त्यहाँ सम्प्रेषित ध्वंसलाई प्रेरित गर्ने सन्देशहरू उल्लेख गर्दै खास गरी विपक्षीहरूले ती घटनाक्रमहरूलाई शङ्कास्पद नजरले हेर्ने गरेको पाइन्छ।
भारतको आन्दोलन कतिको 'मौलिक'
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका काठमाण्डू विश्वविद्यालयका सहप्राध्यापक दिनेश काफ्ले भारतको पछिल्लो युवा आन्दोलन 'अर्ग्यानिक' (मौलिक) देखिएको बताउँछन्।
उनले थपे, "बौद्धिकहरूले, राजनीतिक दलहरूले डोर्याउने जागरुकता हामीले भारतबाट सिकेको हो। पछिल्लो समयमा नेपालमा अकस्मात् जेन जी आन्दोलन उचाइमा पुग्यो। नेपालको राजनीतिक संस्थापनले जस्तो व्यवस्थापन गर्यो, एक किसिमको प्रतिक्रियाको हिसाबले त्यो भयो। रोजगारीको सङ्कट, अर्थतन्त्रका समस्याजस्ता मुद्दाले भारतमा आक्रोश बिस्तारै जम्मा भइरहेको थियो। अहिले आएर त्यो उम्लिएको मात्रै हो।"
भारतमा जनसङ्ख्याको झन्डै ६५ प्रतिशत हिस्सा ३५ वर्षभन्दा कम उमेरको रहेको बताइन्छ। झन्डै २५ प्रतिशत युवाहरू कलेज जान नपाएका वा बेरोजगार रहेको बताइन्छ।
काफ्लेका विचारमा राजनीतिक संस्थापनले बनाउने गरेका भाष्य 'नयाँ पुस्ता'ले सुनेर नबस्ने र आवश्यक पर्दा त्यसविरुद्ध आवाज उठाउने तथ्य नेपाल र भारतमा भएका जेन जी प्रदर्शनहरूले देखाएको छ।
"तर अहिले जन्तरमन्तरकै हेर्दा भारतको जेन जी अलिकति संयमित पनि देखिन्छ। त्यहाँ पनि प्रहरीले दमन त गरेको छ। तर नेपाल, बाङ्ग्लादेश र श्रीलङ्काको घटना हेरेर उनीहरूले पाठ सिकेको जस्तो पनि देखिन्छ। जस्तो आगजनीमा उत्रनुहुँदैन भन्ने बुझेको देखिन्छ।"
उनले अहिलेको भारतको युवा आन्दोलनमा सङ्गठित विद्यार्थी यूनियनहरू पनि जोडिन थालेका उल्लेख गर्दै त्यसले पनि प्रदर्शनकारीहरूलाई जिम्मेवार बनाएको आफूलाई लागेको जनाए।
"त्यो नेपालमा ठ्याक्कै थिएन। नेपालमा घुसपैठ देखियो। अहिले त्यहाँ वैचारिक हिसाबले अलि धेरै कुरा गर्ने तर आगजनीको हिसाबमा जाने परिस्थिति देखिएको छैन। यो हिसाबले जिम्मेवार नै मान्नुपर्छ।"
दिल्लीबाट सुरु भएको विद्यार्थी आन्दोलन मुम्बई, पटना, बेङ्गलुरुसहितका स्थानमा विस्तार भएको छ।
काफ्ले लामो समययता भारत 'प्रतिपक्षविहीन' जस्तो देखिएको अवस्थामा युवा आन्दोलनका कारण मोदी सरकार 'हच्चकिएको' ठान्छन्।
उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदा वा त्यसमा सहभागी हुने मनसाय व्यक्त गर्दा नेपाली युवाहरूले केही कुराहरू ध्यान दिनुपर्ने काफ्ले ठान्छन्।
उनले थपे, "हामी नेपालीहरूले बोल्दाखेरी त्यहाँको विद्यार्थीहरूले केही बल मिल्नेजस्तो भए पनि मेरो विचारमा हामीले धेरै नबोलिदिँदा धेरै राम्रो हुन्थ्यो। जसरी यहाँ राष्ट्रवादको कुरा गरिन्छ, त्यहाँ पनि विदेशी तत्त्व घुसेको छ भन्ने भाष्य बन्न सक्छ। उनीहरूको आन्दोलन उनीहरूले नै नेतृत्व गर्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।