होर्मुज स्ट्रेटबारे इरानले किन यति ठूलो जोखिम लिइरहेको छ

    • Author, आमिर आज्मी
    • Role, बीबीसी न्यूज पर्सिअन
  • Published
  • पढ्ने समय: ६ मिनेट

होर्मुज स्ट्रेटजस्तो निकै रणनीतिक महत्त्व बोकेको जलमार्गमाथिको नियन्त्रणको विषयलाई लिएर अमेरिकासँगको दश दिनसम्मको आक्रमण-प्रत्याक्रमणपछि इरानी नेताहरूसँग अहिले तीनवटा विकल्प रहेजस्तो देखिन्छ।

तर तीमध्ये कुनैले पनि विजयको स्पष्ट बाटो सुनिश्चित गर्दैनन्।

केके हुन् त ती विकल्पहरू?

इरानसामु रहेका ३ विकल्प

पहिलो विकल्प भनेको वाशिङ्टनका अधिकांश मागहरू स्वीकार्नु हो। त्यो भनेको व्यापारिक जहाजहरूमाथिका आक्रमण रोक्दै होर्मुज स्ट्रेटमा सुरक्षित र स्वतन्त्र आवागमन प्रत्याभूत गर्नु, आफ्नो अत्यधिक संवर्द्धित युरेनिअम भण्डार त्याग्नु वा घटाउनु तथा अन्तर्राष्ट्रिय आणविक नियामकहरूको कडा निरीक्षण स्वीकार्नु हो।

त्यसको सट्टा तेहरानले आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य, आर्थिक प्रतिबन्धहरूमा सहजता तथा भविष्यमा थप आक्रमणबाट सुरक्षा चाहने छ।

तर त्यसो गर्नु आर्थिक तथा सैनिक हिसाबले सम्भवतः सबैभन्दा कम खर्चिलो तर राजनीतिक रूपमा भने सबैभन्दा महँगो विकल्प हुन सक्छ।

होर्मुजको व्यवस्थापनमा आफ्नो औपचारिक भूमिका सुनिश्चित नगरी उसले उक्त मार्ग खोलिदियो भने तेहरानले एउटा त्यस्तो महत्त्वपूर्ण प्रतिरोधात्मक शक्ति गुमाउने छ, जुन शक्तिलाई त्यहाँका कतिपयले इरानका क्षेप्यास्त्र, क्षेत्रीय सहयोगी समूहहरू वा परमाणु कार्यक्रमभन्दा पनि प्रभावकारी देखिन थालेको ठानेका छन्।

पहिलो पटक इरानले शत्रुहरूले आफ्नो भूमिमाथि आक्रमण गर्दा विश्व अर्थतन्त्रलाई तत्काल प्रभावित तुल्याउन सक्ने क्षमता देखायो।

त्यस्तै परमाणु कार्यक्रमलाई इरानले लामो समयदेखि आफ्नो वैधानिक अधिकारका रूपमा प्रस्तुत गर्दै आएको छ। महिनौँसम्मको आक्रमण भोगेपछि यदि इरानले आफ्नो परमाणु गतिविधिमाथि कडा प्रतिबन्ध स्वीकार्‍यो भने कट्टरपन्थीहरूले त्यसलाई अमेरिकी सैनिक दबावको सफलताका रूपमा अर्थ्याउन सक्ने छन्।

त्यसले इरानको क्षेप्यास्त्र कार्यक्रम तथा लेबननको हिज्बुल्लाह, इराकका शिया समूहहरू र यमनका हूथी विद्रोहीहरूसँगको सम्बन्धमाथि पनि थप दबाव पैदा गर्न सक्छ।

दोस्रो विकल्प भनेको द्वन्द्वलाई अझ चर्काउनु हो।

इरानले उक्त क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू, व्यापारिक जहाजहरू तथा खाडीका अरब राष्ट्रहरूको महत्त्वपूर्ण पूर्वाधारमाथि आक्रमण बढाउन सक्छ। त्यसबाट उसले इन्धनको मूल्य बढ्दा तथा व्यापक अवरोध सिर्जना हुँदा अमेरिका र उसका सहयोगीहरू सम्झौताका निम्ति बाध्य हुन सक्ने आशा गर्न सक्छ।

तर यो विकल्पमा ठूलो सैन्य जोखिम छ।

कुनै आक्रमणले ठूलो सङ्ख्यामा सैनिकहरू हताहत भए वा खाडी क्षेत्रका पूर्वाधारमा गम्भीर क्षति निम्त्याएमा इरानका छिमेकी राष्ट्रहरू अझ प्रत्यक्ष रूपमा युद्धमा तानिन सक्छन् र इरानले झन् ठूलो अन्तर्राष्ट्रिय गठबन्धनको सामना गर्नुपर्ने हुन सक्छ।

तेस्रो विकल्प भनेको अहिलेको अस्थिरतालाई कायम राख्नु हो। अर्थात्, होर्मुजमा जहाजहरूको आवतजावत र ऊर्जा बजारमाथि आफ्नो प्रभाव कायम रहने तर अमेरिका पुन: पूर्ण युद्धमा फर्किने अवस्था आउन नदिने गरी ठिक्क दबाव कायम राख्ने।

यो रणनीति इस्लामिक गणतन्त्र इरानको परम्परागत सोचसँग मेल खान्छ।

इरानलाई आफूभन्दा शक्तिशाली शत्रुलाई हराउन आवश्यक छैन, उसका सामु टिकिराख्न सके मात्र पनि पुग्छ। अस्तित्वको रक्षालाई समेत विजयका रूपमा प्रस्तुत गर्न सकिन्छ। तर आर्थिक प्रतिबन्धहरू, युद्धबाट भएको क्षति तथा बढ्दो महँगीले देशभित्र लगातार दबाव बढाइरहेको छ।

समयक्रममा एउटा विरोधाभास देखा पर्न पनि सक्छ। इरानले जति धेरै होर्मुज जलमार्गलाई हतियारका रूपमा प्रयोग गर्छ, त्यति नै अन्य देशहरूले ऊर्जा र अन्य वस्तुहरू निर्यात गर्ने नयाँ मार्ग खोज्न सक्छन्।

इरानी संसद्‌का प्रमुख मोहम्मद बागेर गालिबाफले पनि त्यसो हुन सक्ने स्वीकार्दै होर्मुजको वास्तविक महत्त्व त्यहाँबाट आवतजावत गर्ने जहाजहरूको सङ्ख्या घटाउनुमा नभई बढाउनुमा रहेको बताएका छन्।

उक्त जलमार्ग असुरक्षित रहिरहेमा विश्वले इरानलाई छलेर आवतजावत गर्ने वैकल्पिक मार्गहरू खोज्ने छ।

कसले गरिरहेको छ निर्णय

इरानको निर्णय प्रक्रियामा रहेको अनिश्चितता अहिलेको अर्को जटिल पक्ष हो।

अमेरिका-इजरेल र इरानबीचको युद्धको सुरुवातमै फेब्रुअरीमा भएको आक्रमणमा मारिएका अयातोल्लाह अली खामेनेईको शासनकालमा निर्वाचित राजनीतिज्ञहरू, धार्मिक संस्थाहरू तथा रेभलूशनरी गार्ड्सबीचका विवाद अन्ततः सर्वोच्च नेताले नै समाधान गर्ने गर्थे। तर महिनौँको युद्धपछि र खामेनेईका छोरा मोज्तबा खामेनेईको नयाँ नेतृत्वमा त्यो शक्तिसन्तुलन पहिलेजस्तो स्पष्ट छैन।

राष्ट्रपति मसूद पेजेस्कियान तथा उनका कूटनीतिज्ञहरू आर्थिक दबाव सहज पार्न र स्थायित्व पुन: हासिल गर्न सम्झौताको पक्षमा हुन सक्छन्।

तर त्यसैको अर्कातर्फ संसदका कतिपय कट्टरपन्थीहरू, अनिर्वाचित प्रकृतिका तर शक्तिशाली संस्थाहरू तथा रूढिवादी सञ्चारमाध्यमहरूले ठूला सम्झौताले इस्लामिक गणतन्त्रको वैचारिक आधार कमजोर बनाउने तथा आफ्ना मूल समर्थकहरूलाई टाढा पुर्‍याउने आशङ्का गर्न सक्छन्।

सबैभन्दा ठूलो प्रश्न भने सशस्त्र बल र त्यसमा पनि विशेष गरी रेभलूशनरी गार्ड्सको भूमिकासँग सम्बन्धित छ।

इरानको क्षेप्यास्त्र कार्यक्रम, क्षेत्रीय गठबन्धन तथा होर्मुज जलमार्गसम्बन्धी रणनीति रेभलूशनरी गार्ड्सको प्रभावमा छन्। तर द्वन्द्व चर्काउने वा वार्ता गर्नेजस्ता विषयको निर्णयमा उनीहरूको प्रभाव कति छ भन्ने अझै अस्पष्ट छ।

तेहरानसामु रहेका यी तीन विकल्पहरूले शासन प्रणालीका अलगअलग पाटामा समान असर गर्दैनन्।

व्यावहारिक सोच भएकाहरू कुनै सम्झौताको पक्षमा हुन सक्छन्; कट्टरपन्थीहरूले अझै लामो समय स्थितिलाई झेल्ने चाहना राख्न सक्छन् र त्यहीँ केही सैन्य कमान्डरहरूले भने द्वन्द्व चर्काउँदा वार्तामा इरानको स्थिति अझ बलियो हुने ठान्न सक्छन्।

त्यसैले इरानले अब कुन बाटो रोज्छ भन्ने मात्र नभई त्यसबारे निर्णय गर्ने अधिकार वास्तवमा कोसँग छ भन्ने पनि मुख्य प्रश्न हो।

इरानीहरू के भन्छन्

नेतृत्वले सहनशीलतालाई जसरी बुझ्छ, सहनेका दृष्टिमा त्यो निकै फरक देखिन्छ।

इरान र अमेरिकाले जुन महिनामा सैन्य कारबाही रोक्ने, होर्मुज स्ट्रेट पुन: खोल्ने र त्यसको ६० दिनमा युद्ध अन्त्य गर्ने सहमतिमा पुग्ने उद्देश्यसहित एउटा सम्झदारीपत्रमा हस्ताक्षर गरेका थिए। तर त्यसको तीन सातापछि होर्मुजमा जहाजहरूमाथिको इरानी हमला र प्रत्युत्तरमा भएको अमेरिकी हवाई कारबाहीसँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धविराम "समाप्त भएको" घोषणा गरिदिए।

बीबीसी पर्सिअनसँग कुरा गर्दै इरानकी एक महिलाले लडाइँ पुन: सुरु हुँदा आफू "निकै दुःखी" भएको बताइन्।

उनले उक्त सम्झदारीले दुवै पक्षलाई बाँकी रहेका विवाद हल गर्न र स्थायित्व पुन: हासिल गर्न समय दिने ठानेकी थिइन्। तर अहिले उनी पूर्वाधारका विनाश तथा सर्वसाधारण र सैनिकहरूको मृत्युको त्रासमा छिन्।

उनले इरानका कट्टरपन्थीहरूमाथि विनाशकारी नीतिहरू लागू गरेको आरोप लगाइन्। साथै उनले युद्धलाई प्रोत्साहित गरेको भन्दै विदेशमा रहेका कतिपय विपक्षीहरूको पनि निन्दा गरिन्।

तेहरानकै अर्की महिलाले आफू काम गर्ने वैदेशिक व्यापार कम्पनी बन्द भएको र विद्यावारिधि उपाधि तथा १७ वर्षको अनुभव हुँदाहुँदै पनि चार महिनादेखि बेरोजगार रहनुपरेको बताइन्।

"कसैले पनि काममा लिँदैनन्, किनभने अब के हुन्छ भन्ने कसैलाई थाहा छैन," उनले भनिन्।

उनले बढ्दो महँगी, बारम्बार विद्युत् र खानेपानी आपूर्ति अवरुद्ध हुने अवस्था, बढ्दो चोरीका घटना अनि राति बेलाबेला गोली चलेको आवाज सुनिनेजस्ता अवस्थाबारे सुनाइन्। त्यसैले अहिले उनले सहरभित्रको आवतजावत पनि कम गरेकी छिन्।

यी अनुभवहरूले कुनै एउटै राजनीतिक निष्कर्षतर्फ सङ्केत गर्दैनन्। विदेशी आक्रमणहरूले इस्लामिक गणतन्त्रका आलोचकहरूमाझ अमेरिका र इजरेलप्रति आक्रोश जगाउन पनि सक्छ। तर सँगसँगै यी दृष्टान्तले सहनशीलताका नाममा जनतालाई अनिश्चितकालसम्म दुःखकष्ट खप्न लगाउने कुराको सीमितता पनि उजागर गर्छन्।

ट्रम्पका सामु पनि कठिन विकल्पहरू छन् : युद्धलाई विस्तार गर्ने, सैन्य तथा आर्थिक दबावलाई निरन्तरता दिने वा त्यस्तो सम्झौता स्वीकार्ने, जसमा कडा निगरानीअन्तर्गत सीमित गैरसैनिक प्रयोजनको परमाणु कार्यक्रम सञ्चालन गर्न इरानलाई अनुमति दिइन्छ।

यीमध्ये कुनै पनि विकल्पले स्पष्ट विजयको मार्ग देखाउँदैनन्।

आक्रमण, मध्यस्थता र अस्थायी युद्धविरामका चक्रहरू हुँदै यो टकराव अझै महिनौँ जारी रहन सक्छ। निर्णायक प्रश्न भनेको इरानी नेतृत्वले पूर्ण युद्ध र कुनै नयाँ आन्तरिक अशान्ति निम्तिन नदिई होर्मुज स्ट्रेटको महत्त्व घटाउने जलमार्गहरूको विकासलाई रोक्दै यसलाई आफ्नो रणनीतिक दबावको साधनका रूपमा कतिन्जेल टिकाइराख्न सक्छ भन्ने हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।