भारी वर्षाको सम्भावना 'कम हुँदै' , यसपालिको मनसुनमा अहिलेसम्म कति भयो जनधनको क्षति

विस्थापितहरूको एउटा अस्थायी टहरा।

तस्बिर स्रोत, RSS

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

मनसुन सुरु भएपछि विस्थापनमा परेका झन्डै ४५० परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यसरी विस्थापितहरूको अवस्था नजिकबाट नियालिरहेको पनि अधिकारीहरूले जनाएका छन्।

सप्ताहान्तमा देशका विभिन्न ठाउँमा भएको भारी वर्षाका कारण सोमबार बिहानसम्मको आँकडा अनुसार कम्तीमा देशभर विभिन्न ९ ठाउँमा सडक पूर्ण अवरुद्ध थियो भने कतिपय ठाउँमा सडकहरू एकतर्फी सञ्चालनमा आएका छन्।

नेपाल प्रहरीले असार ५ गते मनसुन सुरु भए यता ७२४ वटा प्राकृतिक विपद्का घटना भएको र त्यसमा ६६ जना घाइते भएको बीबीसीलाई जानकारी दिएको छ।

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले सोमबारपछिका केही दिन सप्ताहान्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै 'भारी वर्षाको सम्भावना केही घटेको' जनाएका छन्।

विस्थापितहरूको व्यवस्थापनका लागि के भइरहेको छ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा बाढी, पहिरो, अविरल वर्षा, सर्पदंशसहितका ६२ वटा घटनामा २ जनाको मृत्यु भएको र १५ जना घाइते भएको जनाएको छ।

विभिन्न १८ जिल्लामा पहिरो, ३ जिल्लामा बाढी र ५ जिल्लामा अविरल वर्षा भएको जानकारी प्राधिकरणले दिएको थियो।

यस वर्ष मनसुन असार ५ गते प्रारम्भ भएको अधिकारीहरूले बताएका छन्। त्यस यता ७२४ वटा विपद्का घटनामा २७ सय भन्दा बढी प्रहरी परिचालन गरिएको थियो।

ती विपद्‌का घटनामा ३४६ घर डुबानमा परेको र ४४९ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।

उनी भन्छिन्, "उहाँहरूलाई सुरक्षित रूपमा राख्नलाई मुख्य गरी हामी निगरानीमै बसेका छौँ। त्योसँग सम्बद्ध रहेका स्थानीय प्रशासन र पालिकासँग समन्वयनमा रहेर उहाँहरूलाई सुरक्षित रूपमा कहाँ राख्ने भनेर हामीले सहयोग पनि पुर्‍याइरहेका छौँ। खाद्य सामाग्रीहरूको जोहो गरेर सहयोग पुर्‍याउन पनि भनिरहेका छौँ।"

प्रहरीको तथ्याङ्कले ११० भन्दा बढी घर सङ्ख्या विस्थापित भएको देखाउँछ जसको आधा भन्दा बढी कोशी प्रदेशमा रहेका छन्।

प्रवक्ता महतले त्यस्ता परिवारलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा राखेका र खाद्यान्नसहितका राहत सामाग्री उपलब्ध गराएको उल्लेख गरिन्।

अधिकारीहरूले यस वर्ष मनसुनजन्य विपद्को जोखिम सम्बोधनका लागि तीनवटा सुरक्षा निकायका कम्तीमा २६ हजार सुरक्षाकर्मीलाई तयार अवस्थामा राखिएको जनाएका छन्।

नेपाल प्रहरी एक्लैले १० हजार भन्दा बढी जनशक्ति स्ट्यान्डबाइ राखेको सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दीप शमशेर जङ्गबहादुर राणाले जानकारी दिए।

विपद्का कारण बाढीले सडक बगाएपछि सडकमा देखिएको अवरोध हटाउँदै सुरक्षाकर्मी।

तस्बिर स्रोत, RSS

राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणले मनसुन सुरु भए यता ६८ वटा चट्याङ्ग, ३९४ वटा पहिरो र ११० वटा बाढीका घटना भएको जनाएको छ।

सबैभन्दा बढी परिवार बाढी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ।

मौसममा सुधार कहिलेबाट?

मनसुनको वर्षाका कारण केही दिनअघि जलमग्न माइतिघर मण्डला क्षेत्र।  मोटरसाइकल, बस र कारहरू जलमग्न सडकमा गुडिरहेको देख्न सकिन्छ।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मनसुनको वर्षाका कारण केही दिनअघि जलमग्न माइतिघर मण्डला क्षेत्र

सप्ताहान्तमा भएको अविरल वर्षापछि कैयौँ ठाउँमा बाढी र पहिरोका विवरणहरू आएका छन्।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ भएर बग्ने नदीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको उल्लेख गरेको छ।

सोमबार बिहान जारी बुलेटिनमा राजधानी काठमाण्डूसहितका ३० भन्दा बढी जिल्लामा मध्यम जोखिमको सम्भावना औँल्याउँदै सतर्क रहन अपिल गरिएको छ।

जल तथा मौसम विभागकी मौसमविद् बिनु महर्जनले 'हिजो अस्तिको तुलनामा भारी वर्षाको सम्भावना केही घटेको' बताइन्।

उनले भनिन्, "भारी वर्षाको सम्भावना त छ तर हिजो अस्तिको जस्तो भारी वर्षाको सम्भावना अलिकति कम नै छ। देशै भरी वर्षाको सम्भावना छ तर कोशी प्रदेशको पहाडी र तराई भूभाग अनि सुदुरपश्चिमको पहाडी र तराई भूभाग अनि बाँकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।"

उनले मङ्गलवार मौसममा थप सुधार हुनसक्ने भन्दै थपिन्, "भोलीको लागि पनि वर्षाको सम्भावना छ तर प्रायजसो ठाउँमा मध्यम वर्षा हुने र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। भोली र पर्सिबाट पानीको सम्भावना कम कम हुँदै जाने जस्तो छ।"

पहिरोले अवरुद्ध भएका सडक खुलाउन कस्तो पहल

मुल सडकको पहिरो सफा गर्दै एक्स्काभेटर।

तस्बिर स्रोत, RSS

पछिल्ला केही दिनमा अविरल वर्षापछि राजधानी काठमाण्डूको माइतीघर क्षेत्र जलमग्न भएको देखिएको थियो।

अविरल वर्षापछि देशका कैयौँ ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएका जानकारी सुरक्षा निकायहरूले दिएका छन्।

सोमबार बिहान १०:३० बजेसम्मको प्रहरीको तथ्याङ्क अनुसार मेची राजमार्गको इलाम र ताप्लेजुङमा सडक खण्ड अवरुद्ध भएको छ भने मध्य पहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल भोजपुर खण्ड अवरुद्ध छ।

भोजपुरमा सडक एकतर्फी सञ्चालन भएको छ। बाग्मती प्रदेशमा ७ वटा जिल्लाका सडकहरू प्रभावित रहेको भन्दै प्रहरीले बिपी राजमार्गमा रातीको समयमा सवारी चलाउन लगाइएको पुरानो रोक कायम रहेको र बिहान अनि दिउँसोको अवधिमा परिस्थिति विचार गरी सवारी साधन सञ्चालन हुने उल्लेख गरेको छ।

सिन्धुपाल्चोकको जिरोकिलोमा अरनिको राजमार्ग बिहानसम्म पूर्ण अवरुद्ध थियो भने धादिङको बेनीघाटमा पृथ्वी राजमार्ग रातिबाटै एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाएको थियो।

पृथ्वी राजमार्ग अन्तर्गतकै धादिङको जोवाङ खोला र चितवनको फिस्लिङमा सडक अवरुद्ध रहेको साथै सिन्धुपाल्चोकको कोदारीमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीको भनाई छ।

बागलुङको बेल बगरमा कालीगण्डकी करिडोर एकतर्फी रूपमा रहेको र अर्घाखाँचीमा पहिरोले ढुङ्ग्रे खोलालाई अवरुद्ध पारेको प्रहरीको भनाई छ।

बर्दियामा अविरल वर्षाका कारण अवरुद्ध मधुवन नगरपालिकास्थित हुलाकी सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको थियो।

राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सडक खुलाउन सम्भव भएसम्मका स्रोतसाधन परिचालन गरिएको बताइन्।

उनी भन्छिन्, "हामीले यहाँ भएसम्म प्राधिकरण, सडक विभाग लगायत स्थानीय प्रशासनसँगको समन्वयमा डोजर, एक्स्काभेटरहरू पहिला पनि १६५ भन्दा बढी स्थानमा स्ट्यान्डबाइ राखेका थियौँ। सडकमा जाने पहिरोकै लागि भनेर हामीले सेतु एप पनि ल्याएका छौँ। त्यसमा कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजर र त्यसका अपरेटरहरू कहाँ कहाँ हुनुहुन्छ, कसलाई तत्कलै परिचालन गर्न मिल्छ त्यो गर्नसक्ने व्यवस्था मिलाइएको छ।"

जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिवार प्राधिकरण अन्तर्गतको मनसुन कमान्ड पोष्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।