'मेरी आमाले मलाई जानाजान वर्षौँ बिरामी बनाइराखिन्', चिकित्सकले पत्ता लगाए यथार्थ

सात वर्षकी छँदा निना ब्लोम

तस्बिर स्रोत, Courtesy of Nina Blom

तस्बिरको क्याप्शन, सात वर्षकी छँदा निना ब्लोम
    • Author, इन्डिया राकसन
    • Author, रडेक बोश्चेटी
    • Role, बीबीसी आउटलूक
  • Published
  • पढ्ने समय: ७ मिनेट

सन् १९७० र १९८० को दशकमा नेदरल्यान्ड्समा हुर्किएकी निना ब्लोम सामान्य बालिकाजस्तै देखिन्थिन्। उनलाई गीतसङ्गीत मन पर्थ्यो र नाच्न पनि रुचाउँथिन्। आफ्नो घरको बुइँगलमा बहिनीसँग खेलेका रमाइला सम्झनाहरू पनि उनीसँग छन्।

तर त्यस्ता खुसीका क्षणहरू निकै कम थिए।

उनलाई कहिलेकाहीँ मात्र घरबाहिर जान अनुमति दिइन्थ्यो। आठ वर्षको उमेरदेखि आमाले उनलाई उनी अत्यन्त गम्भीर बिरामी भएको विश्वास दिलाउन थालिन्। उनी छोरीलाई बारम्बार अस्पताल लगेर विभिन्न परीक्षण र उपचार गराउँथिन्। केही वर्षमै उनलाई छ वटा अस्पतालमा १५ पटक भर्ना गरियो।

समय बित्दै जाँदा आमाले उनलाई ह्वीलचेअर प्रयोग गर्न लगाइन्। उनलाई निको नहुने किसिमको मांसपेशीसम्बन्धी रोग लागेको र उनी मर्न लागेकी बताइयो।

वर्षौँसम्म धेरै स्वास्थ्यकर्मीहरूले निनाको परीक्षण गरे तर कसैले पनि उनलाई के समस्या छ भन्ने पत्ता लगाउन सकेनन्। अन्ततः एक समझदार चिकित्सकले निनाका जीवनका विभिन्न घटनाहरू जोडेर उनको रोगको वास्तविकता र त्यसपछाडिको भयावह कारण पत्ता लगाए।

त्यसका पछाडि अरू कसैको नभई उनकै आमाको भूमिका थियो।

'पीडिएट्रिक कन्डिशन फल्सिफिकेशन' बालदुर्व्यवहारको एउटा रूप हो। त्यसलाई 'फेब्रिकेटेड' वा 'इन्ड्यूस्ड इलनेस' अथवा 'मन्चाउजेन सिन्ड्रोम बाइ प्रोक्सी' पनि भनिन्छ। यसमा हेरचाह गर्ने व्यक्तिले केटाकेटीको रोगलाई बढाइचढाइ प्रस्तुत गर्छन्, झुटो कथा बुन्छन् वा बच्चालाई जानाजानी बिरामी बनाउँछन्। त्यसो गर्नेमा बाबुआमामध्येकै हुन्छन्।

त्यसो गरिनुपछाडिका कारणहरू अझै पूर्ण रूपमा बुझिएका छैनन्।

अस्पतालको पहिलो भर्ना

निना आठ वर्षकी छँदा उनलाई बारम्बार पेट दुख्ने समस्या हुन थाल्यो र उनको तौल पनि धेरै नै घट्यो।

अस्पताल भर्ना भएपछि उनलाई स्याउको रस र सूप खान दिइयो। आश्चर्यजनक रूपमा उनको स्वास्थ्यमा सुधार हुन थाल्यो।

"चिकित्सक भन्थे, 'निना ठिक छिन्... उनी घर जान सक्छिन्।'"

तर उनकी आमा आफूहरू फेरि अस्पताल फर्किनुपर्ने जिद्दी गर्थिन् र निनालाई चिकित्सकसामु अझै पेट दुखिरहेको बताउन बाध्य पार्थिन्। खासमा उनलाई पेट दुखिरहेको हुँदैनथ्यो।

निनाको तीन वर्ष छँदाको तस्बिर

तस्बिर स्रोत, Courtesy of Nina Blom

तस्बिरको क्याप्शन, निना सानो छँदा हासिँखुसी खेल्न सक्थिन्

त्यसपछिका वर्षहरूमा त्यो क्रम बारम्बार दोहोरियो।

एकपटक पारिवारिक छुट्टीका क्रममा पौडी खेलेपछि निनाले शरीर अलिकति दुखेको गुनासो गरिन्। उनकी आमा उनलाई मांसपेशीको रोग लागेको र तत्काल पुन: अस्पताल जानुपर्ने निष्कर्षमा पुगिन्।

निनाले नमानेपछि उनकी आमाले भनिन्, "मलाई मूर्ख नबनाऊ। तिमीलाई दुखिरहेको छ र तिमीले त्यही कुरा चिकित्सकलाई भन्ने हो।"

निना द्विविधामा परिन्।

"मलाई नराम्रो महसुस हुन्थ्यो किनकि म क्यान्सर भएका बच्चाहरूसँग एउटै वार्डमा बसेकी थिएँ र उनीहरू साँच्चै बिरामी थिए," उनी भन्छिन्, "म सोच्थेँ, 'मलाई त केही भएको छैन।'"

अस्पतालमा बसिरहेका बेला छेउको शय्यामा रहेका एक बालकको मृत्यु भएपछि उनलाई झन् खराब महसुस भयो।

'उनी क्रूर थिइन्'

तीन वर्षकी छँदा आमासँग निना

तस्बिर स्रोत, Courtesy of Nina Blom

तस्बिरको क्याप्शन, तीन वर्षकी छँदा आमासँग निना

निनाले थरिथरीका परीक्षणहरू सहनुपर्‍यो। त्यसमा 'बोन म्यारो'को बायोप्सीजस्ता निकै पीडादायी प्रक्रिया पनि थिए। तर त्यति गर्दा पनि चिकित्सकहरूले कुनै रोग भेट्टाउन सकेनन्।

उनकी आमा सधैँ उनीसँगै हुन्थिन्। उनी निनालाई मुस्कुराएको देख्थिन्, रिसाउँथिन् र सजाय दिन्थिन्।

एउटा अस्पतालमा चार साता बिताएपछि अन्ततः चिकित्सकहरूले उनलाई घर पठाउने निधो गरे। तर घर पुग्नासाथ उनकी आमाले उनलाई ह्वीलचेअरमा राखिन्, विद्यालय जान रोकिदिइन् र दिनभर बैठक कोठाको ओछ्यानमै बस्न बाध्य पारिन्।

साथीहरूसँग उनको भेटघाट बन्द भयो। आमाले गीतसङ्गीत सुन्न पनि रोकिदिइन्। बुनाइको काम गर्दा मन बहलिन्थ्यो तर उनका हातहरू थाक्न र दुख्न थाले। त्यसमाथि उनकी आमाले केही गम्भीर समस्या भएको भन्दै उनका पाखुरामा कसेर पट्टी बाँधिदिइन्।

त्यसको कसाइले गर्दा उनका हात र औँलाहरू सुन्निए। त्यो देख्दा उनकी आमालाई सन्तोष मिलेको प्रतीत हुन्थ्यो। "आमालाई त्यसबाट आनन्द मिलिराखेको जस्तो देख्नु कति डरलाग्दो थियो, म शब्दमा व्यक्त गर्न सक्दिनँ," निना भन्छिन्।

'तिमी मर्दै छौ'

एघर वर्षकी छँदा निना

तस्बिर स्रोत, Courtesy of Nina Blom

तस्बिरको क्याप्शन, हरेकपटक घर सर्दा निनालाई नयाँ चिकित्सककहाँ लगिन्थ्यो

समयक्रमसँगै उनकी आमाको कथा पनि बदलिन थाल्यो। उनले निनालाई भनिन्, "यदि तिमीलाई कुनै पीडा छैन र यी सबै तिमीले यसै बनाएकी हौ भन्ने थाहा पाएँ भने म तिमीलाई तह लगाउने छु।"

निना झन् अन्योलमा पर्दै गइन्। उनका अनुसार उनलाई "स्वयंको अस्तित्व गुमेको" महसुस भयो।

लामो समयसम्म ओछ्यानमा बस्नु परेको र सधैँ हातमा पट्टी बाँधिएका कारण उनको शरीर बिस्तारै कमजोर हुँदै गयो। अन्ततः चिकित्सकहरूले उनलाई 'फिजिओथेरपी'का लागि पुनर्स्थापना केन्द्रमा पठाए।

त्यहाँ गएपछि उनले पुन: हिँड्न सिकिन् र त्यहीँ उपचार गराइरहेका एक युवकसँग प्रेम पनि बस्यो।

धेरै वर्षपछि पहिलो पटक उनले खुसी महसुस गर्न थालिन्।

तर पुनर्स्थापना केन्द्रले सप्ताहान्तमा घर जाने अनुमति दिएपछि उनकी आमाले फेरि सबै कुरामा नियन्त्रण गर्न थालिन्। उनले निनालाई फेरि ती पीडादायी पट्टीहरू बाँध्न बाध्य पार्ने मात्र नभई ओछ्यानबाट उठ्नसमेत रोक लगाइन्।

तिनले निनालाई मुटुको रोग भएको बताइन् र एक दिन भनिन्, "तिमी मर्दै छौ।"

"मैले आफूलाई साँच्चिकै एक्लो महसुस गरेको त्यो पहिलो पटक थियो," निना भन्छिन्, "मानौँ, म कुनै अँध्यारो खाडलमा खसिरहेकी थिएँ।"

'तपाईँ मद्दत गर्नुहुन्छ, डाक्टर?

सन् १९९० मा लिइएको तस्बिरमा निना आइसक्रीम खाइरहेकी देखिन्छिन्

तस्बिर स्रोत, Courtesy of Nina Blom

तस्बिरको क्याप्शन, घरबाहिरको एउटा संस्थामा राखिएपछि र अस्पतालमा उपचार हुँदै गर्दाका बखत सन् १९९० मा लिइएको तस्बिरमा निना आइसक्रीम खाइरहेकी देखिन्छिन्

त्यसपछि केही परिवर्तन आयो।

अर्को पटक अस्पताल भर्ना हुँदा निनाको भेट नयाँ बालरोग विशेषज्ञ डाक्टर भ्रिएन्टेनसँग भयो। उनले निनालाई हातखुट्टा र जोर्नीहरूका विशेषज्ञहरूकहाँ पठाउन चाहेको बताए ताकि उनका हातखुट्टा र जोर्नीहरूको चाल सुध्रियोस् र उनी फेरि हिँड्न सकून्।

निना अक्क न बक्क भइन्।

उनकी आमाले सधैँ उनलाई मांसपेशीको घातक रोग लागेको र त्यसैका कारण उनी मर्ने बताउँदै आएकी थिइन्। भित्री मनमा उनलाई शङ्का लाग्थ्यो तर कहिल्यै प्रश्न गर्ने साहस गरेकी थिइनन्।

उनकी आमाचाहिँ अत्यन्त क्रोधित भइन्। घर फर्केपछि निनाका खुट्टाहरूलाई जबरजस्ती 'एक्स' आकारमा दोबारिन् र सिरानीमा बाँधिदिइन्। खानेकुरा पनि बन्द गरिदिइन् र निनाको नाकबाट खाना पठाउने नली छिराएर दिनको २० वटा औषधि खान बाध्य पारिन्।

एक पटक चिकित्सकलाई भेट्न जाँदा उनकी आमाले निनाका लागि 'पीडा नहोस् भनेर मारिदिने' मागसमेत गरिन्।

बिरामी र अत्यन्त थकित निनाले पनि त्यसमा सहमति जनाइन्।

"डाक्टर, म मर्न चाहन्छु," उनले भनिन्, "के तपाईँ मद्दत गर्न सक्नुहुन्छ?"

डाक्टर पछि हटे, उनकी आमासँग छोटो कुराकानी गरे र २४ घण्टा 'मर्फिन' दिन सिफारिस लेखिदिए।

"हामी उनलाई निद्रावस्थामा राखिरहने छौँ," उनले भने।

उद्धार

पहिलोपटक सामान्य पोसाकमा निना

तस्बिर स्रोत, Courtesy of Nina Blom

तस्बिरको क्याप्शन, पहिलोपटक सामान्य पोसाकमा निना (सन् १९८९ को तस्बिर)

तर डाक्टर भ्रिएन्टेनले घटनाक्रमका सबै टुक्राहरू जोडेर वास्तविकता बुझिसकेका थिए। त्यसपछि उनले बालसंरक्षण निकायसँग सम्पर्क गरे।

एक दिन एउटी महिला निनाको कोठामा आइन् र उनलाई अर्को अस्पताल लैजान लागेको बताइन्। निनाले बिन्ती गरिन्, "कृपया, त्यसो नगर्नूस्। मलाई मर्न दिनुहोस्।"

यी घटनाक्रमबीच उनले आफ्नी आमालाई आत्तिन थालेको देखिन्। नजिकै दुई जना प्रहरी अधिकारी उभिएका थिए।

केही बेरपछि उनलाई स्ट्रेचरमा राखियो र एम्बुलेन्समार्फत् त्यहाँबाट लगियो।

उनका हात र खुट्टामा बाँधिएका पट्टीहरू हटाइए। उनको कोठामा एउटा भिडिओ क्यामरा जडान गरियो।

त्यसको दुई दिनसम्म उनले आफ्ना आमाबुवामध्ये कसैलाई पनि देखिनन्।

अन्ततः जब उनीहरू छोरी भेट्न आए, निनाले बारम्बार भनिन्, "म बिरामी छैन।"

उनले १८ पटकसम्म त्यसो भनेको भन्यै गरिन्।

उनकी आमाले कोठामा रहेको क्यामराले सबै कुरा रेकर्ड गरिरहेको बिर्सिन् अनि रिसाउन थालिन् र त्यो वर्षौँदेखि के हुँदै आइरहेको थियो भन्नेबारेको प्रमाण बन्यो।

नयाँ जीवन

निनाको ताजा तस्बिर

तस्बिर स्रोत, Courtesy of Nina Blom

तस्बिरको क्याप्शन, निनाले विगतलाई छाडेर बाँकी जीवनलाई उत्सवका रूपमा मनाउने निर्णय गरिन्

त्यसको केही समयपछि उनले आमाबुवासँगको सबै सम्पर्क पूर्ण रूपमा विच्छेद गरिन्। उनलाई एउटा उपचार केन्द्रमा सारियो। त्यहाँ उनले शारीरिक र मनोवैज्ञानिक उपचार प्राप्त गरिन् अनि पछि नयाँ परिचयसहित अर्कै सहरमा बस्न थालिन्।

उनले आफ्नो नयाँ जीवन तय गरिन् : आर्ट स्कूलबाट स्नातक भइन्, रोजगारी पाइन् र प्रेममा परिन्।

उनका आमाबुवाले निनामाथि जे गरेका थिए, त्यो कहिल्यै स्वीकार गरेनन्। उल्टै एक समय निनालाई खोज्न निजी जासुस पनि राखे। त्यसले उनलाई फेरि ठूलो मानसिक तनाव र पीडा दियो।

उनले आफ्ना आमाबुवाविरुद्ध उजुरी दिने विषयमा पनि विचार गरिन्। उनको उद्धार गरिएका बेला कसैले त्यसो गरेको थिएन। तर अन्ततः उनले त्यसो नगर्ने निधो गरिन्।

केही वर्षमा उनका आमाबुबाको एकपछि अर्को गर्दै मृत्यु भयो।

"मेरा आमाबुवाले ममाथि जे गरे, त्यो एउटा अपराध थियो," निना भन्छिन्, "त्यो बालबालिकामाथिको अत्यन्त गम्भीर दुर्व्यवहार थियो र म मुस्किलले बाँच्न सफल भएँ।"

तर अहिले उनी आफ्नो जीवन राम्रो अवस्थामा पुगेकोमा अत्यन्त कृतज्ञ छिन्।

"म बाँच्न सफल भएकोमा धेरै खुसी छु र जीवनमा बाँच्नका लागि अझै धेरै कुराहरू छन्।"

यो आलेख बीबीसी वर्ल्ड सर्भिसको 'आउटलूक कार्यक्रम'मा आधारित छ।

निनाको संस्मरणको नाम 'यू आर अ हरिबल चाइल्ड' हो र उनको कथा मार्गरेट डे हेअर र उनी स्वयंद्वारा लिखित ग्राफिक नोभेल 'यू आर गोइङ टू डाई' मा पनि भनिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।