रक्षामन्त्रीपछि युक्रेनका सेनापति पनि पदमुक्त

 पदमुक्त सेनापति ओलेक्सान्डर सिर्स्की

तस्बिर स्रोत, Global Images Ukraine via Getty Images

Published
पढ्ने समय: ३ मिनेट

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका सेनापति ओलेक्सान्डर सिर्स्कीलाई पदमुक्त गरेका छन्।

युक्रेनका लोकप्रिय रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरिएको केही दिनपछि सेना प्रमुख पनि पदबाट हटाइएका हुन्। रक्षामन्त्रीलाई हटाइएपछि देशभरि प्रदर्शनहरू भएका थिए।

सेनापति सिर्स्कीसँगको विवादका कारण रक्षामन्त्री फेडोरोभलाई हटाइएको प्रारम्भिक आकलन गरिएको थियो।

मन्त्रालयलाई ऊर्जावान बनाएको, सशस्त्र बलको रूपान्तरणमा योगदान दिएको तथा भ्रष्टाचारविरुद्ध अभियान चलाएका भनेर चिनिने ३५ वर्षीय फेडोरोभ लोकप्रिय थिए। सेनापति सिर्स्की चाहिँ युक्रेनमा आमूल परिवर्तनका कदम चाल्न तयार नहुने सोभियत शैलीका सैन्य कमान्डरका रूपमा हेरिने गरिएका थिए।

हाल ६० वर्षका सिर्स्कीलाई हटाएर ४३ वर्षीय मिखाइलो द्रापातीलाई सेनापति नियुक्त गरिएको छ। उनी लोकप्रिय र युद्धको अनुभव भएका जेनरल मानिन्छन्।

"म पूर्ण जिम्मेवारीका साथ, ध्यान दिएर र हाम्रो देशको रक्षा गरिरहेका मानिसहरूप्रति सम्मान व्यक्त गर्दै काम गर्ने छु," द्रापातीले फेसबुकमा लेखेका छन्।

उनले "युक्रेनी सेनालाई सुदृढ बनाउन निरन्तर काम गरेको" भन्दै सिर्स्कीलाई धन्यवाद दिएका छन्।

सरकारमा जिम्मेवारी दिने प्रस्ताव

युक्रेनका लोकप्रिय रक्षामन्त्री मिखाइलो फेडोरोभ

तस्बिर स्रोत, EPA/ Shutterstock

मङ्गलवार राति सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो सन्देशमा जेलेन्स्कीले सिर्स्कीलाई धन्यवाद दिएका छन्। राष्ट्रपतिले रुसी आक्रमणका प्रारम्भिक दिनहरूमा राजधानी किएभको रक्षामा सिर्स्कीको भूमिकाको प्रशंसा गरेका छन्।

जेलेन्स्कीले आफूले फेडोरोभसँग पनि भेटेर उनलाई सरकारमा उपयुक्त पद प्रस्ताव गरिएको बताएका छन्। तर त्यसमा फेडोरोभले के जबाफ दिए भन्ने खुलेको छैन।

गत साता फेडोरोभको स्थानमा युक्रेन सेक्युरिटी सर्भिसका पूर्व शीर्ष अधिकारी येभेनी ख्मारा रक्षामन्त्री नियुक्त भएका थिए।

निवर्तमान रक्षामन्त्री फेडोरोभले नवनियुक्त सेना प्रमुख द्रापातीलाई बधाई दिएका छन्।

फेडोरोभले पदमुक्त भएका सेनापति सिर्स्कीलाई पनि फोन गरेर किएभ क्षेत्रको रक्षा र अन्य "ऐतिहासिक युद्ध"मा उनको योगदानका लागि धन्यवाद दिएको पनि बताएका छन्।

फेडोरोभ गएको ज्यानुअरीमा मात्रै रक्षामन्त्री नियुक्त भएका थिए। युद्धको अग्रपङ्क्तिमा खटिएका सैनिकहरूको प्रदर्शन विश्लेषण र सुधारका लागि तथ्याङ्कको प्रयोग गरेको भन्दै उनको व्यापक प्रशंसा गरिएको थियो।

युक्रेनको डिजिटल रूपान्तरण मन्त्री रहेर काम गरिसकेका उनले रुसको आक्रमण सुरु भए लगत्तै स्वयंसेवी 'आईटी आर्मी अफ युक्रेन' गठन गरेका थिए। उक्त समूहले रुसविरुद्ध साइबर आक्रमण अभियान सञ्चालन गरेको थियो।

पछि उनले 'आर्मी अफ ड्रोन्स' नाम दिएर एउटा सहयोग सङ्कलन अभियानको नेतृत्व गरे। त्यससँगै उनले रुसी निशानामा प्रहार गर्ने युक्रेनी सैन्य एकाइहरूलाई खेलमा जसरी अङ्क प्रदान गर्ने प्रणाली विकास गरेका थिए।

जेलेन्स्कीमाथि दबाव

युक्रेनमा प्रदर्शन

तस्बिर स्रोत, EPA

फेडोरोभलाई पदमुक्त गरिएपछि लगातार छ दिनसम्म देशव्यापी प्रदर्शन भएका थिए। त्यसपछि उनीसँग विवाद गरेका भनिएका सेनापति सिर्स्कीलाई हटाउन जेलेन्स्कीमाथि दबाव परेको थियो।

युवा र धेरैले नवप्रवर्तनप्रेमी कमान्डरका रूपमा हेर्ने गरेका द्रापातीलाई सेनापतिमा नियुक्त गरेर जेलेन्स्कीले प्रदर्शनको माग सम्बोधन गरेको ठानिएको छ। द्रापाती पूर्व रक्षामन्त्री फेडोरोभसँग निकट मानिन्छन्।

फेडोरोभले पनि द्रापातीलाई खुलेर समर्थन गरेका कारण राजनीतिक तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जेलेन्स्कीले रक्षामन्त्रीको जिम्मेवारीमा रहेका ख्मारा र सेना प्रमुख द्रापातीलाई सैन्य संरचना सुधार, हतियार आपूर्ति र ड्रोन सहितका विषयमा नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिएका छन्।

सेना प्रमुखबाट हटाइएका सिर्स्कीले भने हालसम्म सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन्। सोमवार प्रकाशित एक लेखमा उनले रक्षामन्त्रीसँग आफ्नो कार्यगत एकता रहेको बताएका थिए।

युक्रेनमा भएका प्रदर्शनबारे टिप्पणी गर्दै उनले सैन्य ठेक्का, खरिद प्रक्रिया र सेना परिचालनसम्बन्धी विषयहरू प्रदर्शनकारीहरूले उठाएको भन्दा जटिल रहेको बताएका थिए।

सडक प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले भने फेडोरोभलाई पुनः प्रभावशाली जिम्मेवारी दिइनुपर्ने माग गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।