अस्पतालको फोहर कि चमत्कारी औषधि, मानव सालको तस्करी किन हुने गर्छ

    • Author, असद सोहेब
    • Author, शेहजाद मलिक
    • Role, बीबीसी न्यूज उर्दू
  • Published
  • पढ्ने समय: ८ मिनेट
  • चेतावनी: यस लेखमा मानव तन्तुसँग सम्बन्धित संवेदनशील तस्बिरहरूको प्रयोग गरिएको छ।

पाकिस्तानमा अस्पतालहरूबाट मानव साल तस्करी गरी बुढ्यौली कम गर्ने भनिएका 'एन्टी-एजिङ' इन्जेक्शनको उत्पादन गर्न प्रयोग गरिएको आशङ्कामा एउटा गिरोहमाथि अनुसन्धान भइरहेको छ।

यहाँको फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) ले उक्त गिरोहले विभिन्न अस्पतालहरूबाट प्रत्येक महिना करिब २०० किलोग्राम मानव साल खरिद गर्ने गरेको आरोप लगाएको छ।

एफआईएले बीबीसी न्यूज उर्दूलाई बताएअनुसार उनीहरूले त्यसलाई सुकाएर प्रशोधन गरेपछि विदेश पठाउने गरेका थिए।

गत महिनाको अन्त्यतिर राजधानी इस्लामाबादमा चलाइएको कारबाहीका क्रममा अधिकारीहरूले एउटा अवैध प्रशोधन केन्द्रबाट मानव साल ठानिएका करिब ५०० किलोग्राम सामग्री बरामद गरेका थिए। त्यस क्रममा पाँच जनालाई पक्राउ गरिएको छ।

एफआईएले सार्वजनिक गरेको तस्बिरहरूमा एउटा घरभित्र ट्रलीका खण्डहरूमा राखिएका भाँडोमा सुकाइएका अवस्थामा साल राखिएको देखिन्छ। एजेन्सीका अनुसार उक्त घरलाई "साल भण्डारण तथा प्रशोधन केन्द्रमा रूपान्तरण गरिएको" थियो।

पाकिस्तानको 'ह्यूमन अर्गन ट्रान्सप्लान्ट अथरिटी'की अधिकारी हिना कँवलले बीबीसी न्यूज उर्दूलाई बताएअनुसार पक्राउ परेका पाँच जनाले इस्लामाबाद र रावलपिन्डीका अस्पतालहरूबाट एउटाको करिब २.९० अमेरिकी डलरका हिसाबले साल खरिद गर्थे। उनका अनुसार अस्पताल प्रशासनको मिलेमतो नभएको भए त्यस्तो कार्य सम्भव हुँदैनथ्यो।

एफआईएका अनुसार त्यसरी जम्मा गरिएका साल निर्यात गरिँदै थियो र 'एन्टी-एजिङ' इन्जेक्शनहरू बनाउन प्रयोग गरिन्छ, जसको मूल्य प्रति इन्जेक्शन २,५३० अमेरिकी डलर सम्म पर्छ।

कँवलका अनुसार 'कस्मेटिक सर्जरी'को क्षेत्रमा मानव सालको ठूलो माग छ। तर पाकिस्तानमा त्यसको किनबेच गैरकानुनी छ।

व्यावसायिक प्रयोजनका निम्ति मानव अङ्ग सङ्कलन गरेको ठहर भएमा त्यस्ता व्यक्तिलाई १० वर्षसम्म कैद र ३,६०० अमेरिकी डलरसम्म जरिवाना हुन सक्छ।

एफआईएका अनुसार उक्त गिरोहको सञ्जाल लाहोर र पेशावरजस्ता ठूला सहरसम्म फैलिएको थियो। सम्भावित संलग्नताको आशङ्कामा अध्यागमन अधिकारीहरू, फोहोर व्यवस्थापन कम्पनीहरू तथा अस्पतालहरूमाथि पनि अनुसन्धान भइरहेको छ।

एफआईएले यसअघि पनि "अवैध मानव अङ्ग प्रत्यारोपणविरुद्ध केही कारबाही गरेको छ," एक अधिकारीले बीबीसी न्यूज उर्दूसँग भने, तर "मानव साल कारोबारमा सङ्गठित अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता" खुलासा भएको यो पहिलो घटना हो।

पक्राउ परेका व्यक्तिहरूले सुरुमा आफूहरूले भेडाको साल प्रशोधन गरिरहेको दाबी गरेका थिए। तर थप सोधपुछपछि उनीहरूले त्यो मानव साल भएको स्वीकारेका अधिकारीहरूको भनाइ छ।

अर्को भिन्दै कारबाहीमा इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट एफआईएका अधिकारीहरूले भियतनाम पठाइँदै गरेको १०० किलोग्राम मानव साल पनि बरामद गरेका छन्। भियतनाममा मानवको साल प्रयोग गरेर चिजबिज बनाउने कार्य प्रतिबन्धित छ तर जनावरका साल भने प्रयोग गर्न पाइन्छ।

मानव सालको कारोबारमा संलग्न भएको आशङ्कामा एफएआईले अहिलेसम्म नौ जनालाई पक्राउ गरिसकेको छ र ती सबै हाल हिरासतमा छन्।

पाकिस्तानका एक स्त्री तथा प्रसूति रोग विशेषज्ञ सदफ तारिकका अनुसार मानव साललाई "अत्यधिक सङ्क्रामक चिकित्सकीय फोहोर" मानिन्छ र यसको व्यवस्थापनका लागि कडा नियमहरू छन्।

उनले बीबीसी उर्दूलाई बताएअनुसार शिशु जन्मिएलगत्तै साललाई छुट्याइन्छ अनि स्पष्ट रूपमा 'प्लेसेन्टा' भनेर अङ्कित गरिएको जैविक फोहर राखिने पहेँलो झोलामा राम्ररी बन्द गरिन्छ।

त्यसपछि नकुहियोस् वा दुर्गन्ध नफैलियोस् भनेर त्यसलाई सुत्केरी कक्ष वा शल्यकक्षबाट अस्पतालको चिस्यान सुविधा सहितको भण्डारण कक्षमा लगिन्छ।

तारिकका अनुसार साललाई अधिकतम २४ घण्टासम्म मात्र सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ।

"त्यसपछि सालजस्ता सबै किसिमका 'प्याथलजिकल' फोहोरलाई चिकित्सकीय मापदण्डअनुसार जलाएर नष्ट गरिन्छ," उनले भने, "सरकारी अस्पताल होस् वा निजी, सबैले यही प्रक्रिया अपनाउँछन्।"

सरकारी स्वीकृति पाएका फोहोर व्यवस्थापन कम्पनीहरूले उक्त कार्य गर्ने गरेका तारिकले बताए। कुनै पनि अस्पतालले उनीहरूलाई यस्तो सामग्री हस्तान्तरण गर्दा त्यसको नियमित अभिलेख राखिन्छ र सम्बन्धित निकायहरूले बेलाबेला ती अभिलेखको निरीक्षण गर्ने गर्छन्।

पारम्पारिक चिकित्सामा यसको प्रयोग

साल गर्भावस्थाका क्रममा गर्भाशयमा विकसित हुने अस्थायी अङ्ग हो जसले गर्भमा रहेको शिशुको जीवनलाई कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।

यो नालमार्फत् शिशुसँग जोडिएको हुन्छ र शिशुलाई अक्सिजन तथा आवश्यक पोषक तत्त्वहरू पुर्‍याउनुका साथै फोहोर पदार्थहरूलाई हटाउने काम पनि गर्छ।

प्राकृतिक तवरले शिशु जन्मिएको अवस्थामा त्यसको केही समयमै साल पनि सोही मार्गबाट बाहिर निस्कन्छ। 'सिजेरिअन सेक्सन'का हकमा चाहिँ चिकित्सकहरूले शल्यक्रियामार्फत् साल निकाल्छन्।

यद्यपि केही मानिसहरू प्रोटिन, आइरन र बोसोले भरिपूर्ण भएकाले साल वयस्कहरूका लागि पनि पोषणयुक्त हुने ठान्दछन्।

शताब्दीयौँदेखि विभिन्न संस्कृतिका पारम्पारिक चिकित्सामा सालबाट निकालिएका रसहरूको प्रयोग हुँदै आएको छ।

अमेरिकास्थित बजार अनुसन्धान कम्पनी 'पोलारिस'का अनुसार हाल विश्वव्यापी रूपमा ७० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको यसको वैध कारोबार सन् २०३४ सम्ममा १ अर्ब ४० करोड अमेरिकी डलरभन्दा माथि पुग्ने ठानिएको छ।

'पोलारिस'का अनुसार सुँगुर, भेडा, घोडा तथा मानव सालबाट तयार गरिएका रसहरूको बढ्दो मागका कारण यसको बजार विस्तार भइरहेको हो।

"साल गर्भावस्थाका लागि मात्र महत्त्वपूर्ण छैन, अहिले चिकित्सा र विज्ञानको समेत एउटा महत्त्वपूर्ण विषय बनेको छ," पोलारिसका वरिष्ठ विश्लेषक नितिन ताम्बे भन्छन्, "शिशुलाई पोषण दिने भूमिकादेखि चिकित्सकीय उपचार र सौन्दर्यसम्बन्धी नवप्रवर्तनसम्म यसको सम्भाव्यता निरन्तर बढिरहेको छ।"

अनौठो पक्ष चाहिँ के छ भने जीवनको प्रारम्भिक चरणलाई संरक्षण गर्ने मूल भूमिकाविपरीत सालबाट बनेका धेरै उत्पादनहरू बुढ्यौलीसँग सम्बन्धित अवस्थाहरूको उपचारका लागि लक्षित छन्। जस्तै,

  • चाउरी पर्ने
  • कपाल झर्ने समस्या
  • रजोनिवृत्ति
  • बाँझोपन
  • बाथ

मानव सालमा इस्ट्रोजन र प्रोजस्टेरोनजस्ता महिला होर्मोनहरू प्रशस्त मात्रामा हुने भएकाले यसलाई विभिन्न औषधि तयार पार्न प्रयोग गरिन्छ। केहीले यी औषधि प्रसूति पछिको 'डिप्रेसन'को उपचारमा प्रयोग गर्छन्।

साथै पारम्पारिक उपचारबाट सीमित सफलता प्राप्त हुने केही अवस्थाहरूमा पनि यसको प्रयोग गरिएको छ। त्यसमा 'अटोईम्यून', 'स्ट्रोक', 'क्रोनीक फटिग', 'पार्किन्सन', 'मल्टिपल स्क्लेरोसिस', 'मस्कुलर डिस्ट्रोफी' जस्ता स्नायुजन्य समस्याका साथै कलेजोका रोग, क्रोन्स भनिने पेटको रोग र केही प्रकारका क्यान्सरसमेत पर्दछन्।

"अनुसन्धानहरूले 'आइरन' को मात्रा बढाउने तथा प्रसूतिपछिको रक्तअल्पताको उपचारका लागि बनाइने औषधिमा पनि यो उपयोगी हुन सक्ने देखाएका छन्," तारिक भन्छन्।

'प्लासेन्टा'लाई चक्की तथा इन्जेक्शनका रूपमा पनि विकास गर्न सकिन्छ। त्यसले तन्तुको पुनःनिर्माणमा सहयोग गर्न सक्ने केहीको दाबी छ।

"विशेष गरी सालको भित्री तहमा 'ग्रोथ फ्याक्टर' सम्बन्धी गुणहरू पाइन्छन्। यसलाई गहिरा घाउ, गम्भीर जलन, अल्सर तथा आँखाका चोटजस्ता अवस्थामा हुने शल्यचिकित्सकीय उपचारमा पनि प्रयोग गरिन्छ," तारिक भन्छन्।

यद्यपि यी अभ्यासका वैज्ञानिक आधार र विश्वका विभिन्न देशहरूमा लागू हुने नियमहरू एकनासका छैनन्।

जापान बायो प्रोडक्ट्स (जेबीपी) ले शतप्रतिशत 'प्लासेन्टा पाउडर'बाट बनेका क्याप्सुलहरू एशियाका विभिन्न देशहरूमा पूरक पोषण सामग्रीका रूपमा निर्यात गर्छ। स्थानीय बजारको माग हेरेर केही उत्पादन मानव सालबाट र केही सुँगुर वा घोडाको सालबाट बनाइन्छ।

जेबीपीका दक्षिणपूर्वी एसिया क्षेत्रका प्रबन्धक विन्स्टन ओईले 'न्यूट्राइन्ग्रेडिअन्ट्स' बेवसाइटसँग भनेका छन्, "एसियालीहरू सालमा आधारित उत्पादनप्रति तुलनात्मक रूपमा अधिक खुला सोच राख्छन्, तीमध्ये चिनियाँहरू जस्ता केहीमा साल उपभोग गर्ने इतिहास रहेको पाइन्छ।"

"अनलाइनमा अधिक जानकारी उपलब्ध हुन थालेपछि मानिसहरू यस्ता उत्पादनबारे बढी जानकार भएका छन् र यसको माग पनि बढिरहेको छ,"उनले अगाडि भनेका छन्।

चीनको अवैध व्यापार

चीनमा व्यावसायिक खरिदबिक्रीमा प्रतिबन्ध भए पनि भूमिगत बजार तथा विभिन्न अनलाइन प्ल्याटफर्महरूमा अलगअलग नाममा ताजा मानव सालको अवैध व्यापार जारी रहेको बताइन्छ।

एक अनलाइन व्यापारीले 'ग्लोबल टाइम्स' पत्रिकालाई बताएअनुसार उनले एउटा मानव साल ५० अमेरिकी डलरभन्दा बढीमा बिक्री गर्छन्।

"धेरै किन्नुभयो भने ४० डलरसम्ममा दिन सक्छु," उक्त सरकारी अखबारसँग उनले भनेका छन्, "हामी प्रतिकिलो ३० डलरमा कच्चा पदार्थ खरिद गर्छौँ।"

कानुनी मामिलाका जानकार झाङ बोले उक्त अखबारलाई बताएअनुसार पक्राउ परेका व्यक्तिहरूलाई प्रायः उनीहरूको अवैध कमाइको तुलनामा पाँच गुणाभन्दा कम जरिवाना तिराइन्छ।

"त्यसलाई अवैध आम्दानीको ५० गुणासम्म बढाइयो भने उनीहरूले त्यस्तो काम गर्नुअघि यसको परिणामबारे दुईफेर सोच्नेछन्।"

"प्राचीन चिनियाँ चिकित्सामा मुख्य रूपमा रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा दम र 'ब्रोङ्काइटिस'को उपचारका लागि मानव साल प्रयोग गरिन्थ्यो," मध्य चीनको हुनान प्रान्तस्थित एक सरकारी अस्पतालमा कार्यरत 'टीसीएम' (ट्रेडिशनल चाइनिज मेडिसिन) भनिने पारम्पारिक चिनियाँ चिकित्सासम्बन्धी 'फर्मासिस्ट' याओले 'ग्लोबल टाइम्स'सँग भनेका छन्।

तर शाङ्घाई पिपुल्स अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर हङ जङसङले उक्त पत्रिकासँगको कुराकानीमा "अस्वच्छ साल खाँदा सङ्क्रमण हुन सक्ने" बताए। उनका अनुसार त्यसमा एचआईभी, हेपाटाइटिस बी तथा सिफिलिसजस्ता भाइरस हुन सक्छ।

डाक्टर जङसङका अनुसार त्यति हुँदाहुँदै पनि "धेरै नयाँ आमाहरूले" नष्ट गर्नुका साटो "आफ्नो साल घर लगेर खाने निर्णय गर्छन्।"

त्यस्तै एकजना भर्खरैकी सुत्केरीले 'ग्लोबल टाइम्स'लाई बताएअनुसार उनकी आमा र सासू दुवैले उनको साल खानेबारे चासो राखेका थिए।

"म उनीहरूले यो खाउन् भन्ने चाहन्नँ," उनले पत्रिकासँग भनेकी छन्, "किनकि यो दिगमिगलाग्दो छ।"

शाङ्घाईकै अर्की एक महिलाले अस्पतालनजिकैको पसलमा करिब ७ अमेरिकी डलर तिरेर आफ्नो साललाई पाउडर बनाई क्याप्सुलमा हाल्न लगाएको उक्त पत्रिकासँग बताएकी छन्।

"त्यो कमजोर स्वास्थ्य भएका मेरा ससुराका लागि थियो।"

पूर्वी चीनको जेजिआङ प्रान्तमा त्यसैको 'होम डेलिभरी' सेवा दिँदै आएकी अर्की एक महिलाले अनलाइन विज्ञापनसम्बन्धी कडाइका कारण आफ्नो व्यवसाय प्रभावित भएको उक्त पत्रिकालाई भनेकी छन्।

"तर वास्तविक माग भने अझै पनि निकै बलियो छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।