भूकम्प गएको थाहा पाएपछि के गर्नुपर्छ, के गर्नु हुँदैन

Published
पढ्ने समय: ६ मिनेट

संसारभरि प्रत्येक वर्ष सयौँ भूकम्पहरू जान्छन्। तिनका कारण धनजनको ठूलो क्षति हुन्छ।

गत साता २४ जुनमा भेनेजुएलामा एक मिनेटभित्र दुइटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १,४५० जनाको मृत्यु भएको छ भने ४,३०० जनाभन्दा बढी मानिस घाइते भएका छन्। म्याग्निट्यूड ७.५ को दोस्रो भूकम्प भेनेजुएलामा सन् १९०० पछि मापन गरिएको सबैभन्दा ठूलो भुइँचालो हो।

ती भूकम्पका कारण कैयौँ भवनहरू भत्किँदा मानिसहरू अवशेषमुनि पुरिए वा बाहिर निस्किन नसक्ने गरी फसे।

फेब्रुअरी २०२३ मा टर्की र सिरियामा गएको म्याग्निट्यूड ७.८ को भूकम्पका कारण दुवै देशमा गरी ५५,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको ब्रिटिश रेडक्रसले जनाएको छ। उक्त भूकम्पलाई यो दशकको सबैभन्दा घातक भूकम्प मानिएको छ।

टर्की विनाशकारी भूकम्पको जोखिमयुक्त क्षेत्रमा अवस्थित छ। सन् १९३९ देखि १९९९ सम्म त्यहाँ पाँचवटा ठूला भूकम्प गइसकेका थिए। सन् १९०० देखि २०२३ सम्म गएका ७६ वटा भूकम्पमा परी झन्डै एक लाख जनाले ज्यान गुमाएका थिए।

मार्च २०२५ मा गएको अर्को भूकम्पका कारण म्यान्मारमा ३,६०० जना अनि २०२१ मा हेइटीमा २,२०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो। त्यसअघि इन्डोनेशियामा २०१८ मा ४,३०० जनाभन्दा बढी र सन् २०१७ मा इरानमा ४०० जनाभन्दा बढी मानिसको निधन भएको थियो।

नेपालमा सन् २०१५ मा आएको शक्तिशाली भूकम्पमा परी झन्डै ९,००० जनाले ज्यान गुमाएका थिए।

गत वर्ष रुसको सुदूरपूर्वी क्याम्च्याट्का प्रायःद्वीपमा ३० जुलाईको बिहान म्याग्निट्यूड ८.८ को शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरको तटमा भएका संयुक्त राज्य अमेरिका र जापानसहित विभिन्न देशले सुनामीको चेतावनी जारी गरे।

रुसमा गएको उक्त भूकम्पलाई अभिलेखमा परेकामध्ये छैटौँ शक्तिशाली भूकम्प मानिएको छ। सन् २०१० मा चिली र सन् १९०६ मा एक्वडोरमा पनि म्याग्निट्यूड ८.८ कै भूकम्प मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ। यद्यपि रुसमा भूकम्पका कारण मानवीय क्षति भएन।

गत वर्षको सुरुदेखि ग्रीक टापु सान्टोरिनीमा हजारौँ भूकम्प मापन गरिएको थियो।

भूकम्पको पूर्वानुमान सम्भव छ?

वैज्ञानिकहरूका अनुसार भूकम्प कहाँ जाने सम्भावना छ भन्ने थाहा भए पनि कहिले जान्छ भन्ने अनुमान गर्ने कुरामा हामी धेरै पछाडि छौँ।

त्यसो भए के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ त?

"दुःखको कुरा के हो भने त्यसो गर्नसकिँदैन," इम्पेरिअल कलेज लन्डनका भूकम्पविद् डा स्टीफन हिक्स भन्छन्।

"तर हामी भूकम्पको पूर्वानुमान गर्न सक्छौँ, सम्भावना देखाउन सक्छौँ। जस्तै - अमेरिकाको क्यालिफोर्निया र जापानमा भूकम्पको पूर्वानुमान धेरै नै गर्न सकिने हुँदै छ।"

त्यसोभए सुरक्षित रहन के गर्न सकिन्छ र के गर्नु हुँदैन?

तयारी अवस्थामा रहनुहोस्

भूकम्प कहिले जान्छ भनेर अनुमान गर्न सजिलो नभए पनि विज्ञहरूका अनुसार हामी सधैँ तयार रहनुपर्छ अर्थात् भूकम्प जाने सम्भावनालाई हेरेर योजना तयार पारेर राख्नुपर्छ।

"यदि तपाईँ [धेरै भूकम्प जाने] क्षेत्रमा बस्नुहुन्छ भने आफ्नो घरमा आपत्कालीन अवस्थामा चाहिने कुरा राख्दा उपयोगी हुन्छ," डा हिक्स भन्छन्।

उनका अनुसार त्यस्ता कुरामा अतिरिक्त पानी, टर्च, प्राथमिक उपचार किट र केही खानेकुरा हुनुपर्छ।

रेडक्रसका अनुसार त्यस्ता कुरामा अतिरिक्त नगद र औषधिको सूची जस्ता महत्त्वपूर्ण व्यक्तिगत कागजपत्रहरूको प्रतिलिपि पनि हुनुपर्छ।

यदि तपाईँ बसेको भवन सुरक्षित छ भने अन्यत्र नजानुहोस्

अमेरिका सरकारको भौगर्भिक निकाय यूएसजीएसका अनुसार यदि तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बस्नुभयो भने तपाईँलाई चोटपटक लाग्ने सम्भावना कम हुन्छ।

त्यसैले भूकम्पको समयमा बाहिर वा अन्य कोठातिर भाग्ने प्रयास नगर्न उसले सुझाव दिएको छ।

"ड्रप, कभर र होल्ड अन" अर्थात् 'निहुरिनु, छेकिनु र रोकिनु' सुरक्षित रहन मूलमन्त्र भएको विशेषज्ञहरू बताउँछन्।

आफ्नो हातलाई तल पारेर घुँडा टेकेर बस्दा तपाईँ माथिबाट झर्ने वस्तुबाट जोगिन सक्नुहुन्छ। यदि नजिकै कुनै अन्य आश्रयस्थल नभएमा टेबल वा डेस्कमुनि बसेको बेला भूकम्प नरोकिँदासम्म समातेर बस्ने सल्लाह पनि दिइएको छ।

जोगिने प्रारम्भिक उपायमध्ये ढोकामुनि उभिनु पनि हो। तर विज्ञहरू भन्छन्- यदि तपाईँ तुलनात्मक रूपमा पुरानो घरमा बस्नुहुन्छ भने तपाईँ टेबलमुनि सुरक्षित हुनुहुनेछ।

घरका झ्याल र अग्रभाग प्रायः पहिलो चरणमै भत्किन्छन्। त्यसैले यस्ता खतरायुक्त क्षेत्रहरूबाट टाढा बस्न सल्लाह दिइन्छ।

बाहिर निस्किँदा सुरक्षित भइन्छ भन्ने छैन

एक पटक भूकम्प बन्द भएपछि भवन भत्किएको अवस्थामा खुला क्षेत्रमा बाहिर निस्कनु सामान्यतया सुरक्षित मानिन्छ।

यो तपाईँ भित्र भएका बेला भूकम्प जाँदाको कुरा भयो। तर तपाईँ बाहिर हुँदा भूकम्प गयो भने के गर्ने?

"तपाईँ जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुहोस्," विज्ञहरू भन्छन्।

घर बाहिर हुँदा विद्युत् वा इन्टरनेटआदिका तार, इन्धन र ग्यास लाइनबाट टाढा जाँदा चोटपटकको जोखिम कम हुन्छ।

त्यस्तै रूख, टेलिफोनका पोल र भवनबाट टाढा खुला ठाउँमा जानु राम्रो हुन्छ।

खतराबाट टाढा रहनुहोस्

अर्थक्वेक कन्ट्री अलायन्सका अनुसार अधिकांश घाइते र मृत्युको कारण टेलिभिजन, बत्ती, गिलास र पुस्तक राख्ने दराजजस्ता वस्तुहरू खसेर वा उडेर लाग्दा हुने गरेको छ।

चोटपटकबाट बच्ने एउटा तरिका भनेको लचकदार फित्ताहरूले गह्रौँ फर्निचरहरूलाई बाँधेर सुरक्षित गर्नु हो।

अर्को सम्भावित खतरा भनेको भूकम्पपछि फुटेका पाइपबाट ग्यास चुहिनु हो।

डा हिक्सले सन् १९०६ को सान फ्रान्सिस्को भूकम्पको उदाहरण दिए।

उक्त भूकम्पमा ३,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

"भवन भत्किएरभन्दा धेरैजसो मृत्यु ग्यास पाइपलाइन विस्फोटनका कारणले भएको थियो," उनले भने।

उनी कुनै पनि ज्वलनशील पदार्थहरूबाट टाढा रहन सल्लाह दिन्छन्।

पूर्वाभ्यास

डा हिक्सले भूकम्प जाँदा गर्नुपर्ने कुराको अभ्यासको महत्त्वलाई पनि जोड दिए।

"केही देशहरूमा भूकम्पसम्बन्धी पूर्वाभ्यासहरू हुन्छन्। त्यहाँ सबैले के गर्ने भन्ने अभ्यास गरिन्छ। तर सम्भवतः टर्कीको त्यो भागमा भएको थिएन किनभने त्यहाँ लामो समयसम्म भूकम्प गएको थिएन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।